कुन बार कुन देबी देवताको पुजा गर्ने भन्ने बारे जानकारी

आइतबार
हिन्दु धर्ममा आइतबारलाई ‘सूर्य देव’ को बार मानिन्छ । यस दिन व्रतालुहरूले एक छाक मात्र खाना खानुपर्दछ र खानामा नुनतेल मिसाउनुहुँदैन । व्रत बस्नेहरूले रातो वस्त्र लगाउँदा सूर्यदेव प्रसन्न हुन्छन् भने पुजा गर्दा रातो रङको फूल चढाउनुपर्दछ ।

सोमबार
सोमबार ‘शिवजी’ को दिन हो । यस दिनमा शिवजीको पुजा तथा आरधना गरे शिवजी चाँडै नै खुसी हुन्छन् । यस दिनमा शिव मन्दिर गई विशेषतः ‘अर्धनारीश्वर पूजा’ गरी ‘ऊँ नमः शिवाय’ मन्त्र जप्नुपर्दछ । अझै सोमबारको दिन शिवजीको पुजा गर्नेबेला शिवपुराण पढ्दा शिवजी प्रसन्न भई मागेको वर दिने धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ । कुमारी स्त्रीले राम्रो वर पाउनका लागि शिवजीको पूजा तथा आरधना गर्ने गर्दछन् भने विवाहित स्त्रीले आफ्नो परिवारमा सुखशान्ती र पतिको लामो आयुको लागि शिवजीको पुजा गर्दछन् । यस दिन व्रत बस्दा एकछाक मात्रा खानुपर्दछ भने खानामा नुनतेल मिसाउन हुँदैन ।

मंगलबार
मंगलबारको दिन विशेष गरी गणेश भगवानको पुजा गरिन्छ । साथै यस दिन काली माता, दुर्गा माता र हनुमानको पनि पुजा गरिन्छ । यस दिन व्रत बस्दा विहानको खाना खानुहुँदैन भने साँझको खानामा नुन मिसाउनु हुँदैन ।

बुधबार
बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो । यस दिन विशेष गरी कृष्णको अवतारको पूजा गरिन्छ । पुजा गर्दा तुलसीको पातले गर्नुपर्दछ । कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ । साथै यस दिन कृष्ण भगवानको व्रत बस्नाले आफूले चाहेको फल पाउने जनविश्वास रहि आएको छ ।

विहिबार
विष्णु भगवान र उनका अवतारहरूको पुजा गरिने दिन विहिबार हो । पूजाको सामग्रीमा दूध र घ्यू समावेश गर्नुपर्दछ । व्रत बस्नेहरूले एकछाक दूग्धपदार्थ खानुपर्दछ । अधिकांश व्रतालुहरूले यस दिन श्रीमद्भागवत पुराण पनि पाठ गर्दछन ।

शुक्रबार
शुक्रबारको दिन हिन्दु धर्मावलम्बीहरूले महालक्ष्मी देवीको पूजा गर्ने गर्दछन् । साथै यस दिनमा लक्ष्मी माताका अवतार सन्तोषी माँ, अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ । शुक्रबारको दिनमा विशेष गरी मिष्ठान्न भोजनको व्यञ्जन गरिन्छ र व्रतालुहरूलाई मिठाईका परिकारहरू पनि बाँडिन्छ ।

शनिबार
कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले यस दिन शनिदेवको पूजा गरिन्छ । यस दिन व्रतालुहरूले कालो वस्त्र लगाउनु राम्रो र फलदायी मानिन्छ । रात्रीभोजनमा नुन नमिसाई खानु पर्दछ । शनिवार पिपलको पूजा गर्दा विभिन्न संकटबाट मुक्ति मिल्ने जनविश्वास रही आएको छ । खासगरी पिपललाई पानी चढाउँदा सूर्योदय हुनुभन्दा अघि जल तथा कालो वस्त्र, फलाम, कालो अन्नहरु चढाउनु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *