लामो समय बन्द अवस्थामा रहेको टरिगाउँ विमानस्थल पुनः सञ्चालन

तुलसीपुर । लामो समय बन्द अवस्थामा रहेको टरिगाउँ विमानस्थल पुनः सञ्चालन हुने भएको छ। तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलबीच सोमबार भएको सहमतिअनुसार मङ्गलबार सानो जहाजले परीक्षण उडान गर्ने भएको हो। “दशैँअगावै सातामा दुई पटक विमान सेवा सञ्चालनको तयारी गरेका छौँ,” निगममा प्रवक्ता अशोक सिग्देलले भने। उनले इन्धनको समस्याका कारण काठमाडौँदेखि भैरहवा हुँदै टरिगाउँ विमानस्थलमा विमान अवतरणको तयारी रहेको समेत जानकारी दिए।

प्रवक्ता सिग्देलले मङ्गलबार परीक्षण उडान भएसँगै विमान सेवा दशैँअगाडि सातामा दुई पटक सञ्चालन हुने समेत बताए। सिग्देलले परीक्षण उडानको प्रतिवेदन पेश भएसँगै नागरिक उड्डयन प्राधिकरणले अध्ययन गरेर सहमति दिएपछि उडान तालिका बनाइने बताए। “साता दिनभित्र सबै प्रक्रिया पूरा भएर विमान व्यापारिक रुपमा सञ्चालन हुनेछ,” उनले भने। नेपाल एयरलाइन्सले उडान भर्ने भएकाले अन्य विमान कम्पनीको भन्दा कम भाडा हुने नगरप्रमुख पाण्डेले जानकारी दिए। उनले सातामा दुई पटक सञ्चालन हुँदा रु छ हजारसम्म र त्यसपछि रु पाँच हजारभन्दा पनि कम भाडाबाट यात्रा गर्न सकिने बताए।

तुलसीपुर विमानस्थल लामो समय सञ्चालनमा नआउँदा हवाई सेवा प्रयोग गर्ने यहाँका कैयौँ यात्रु भैरहवा र नेपालगञ्जको विमानस्थल प्रयोग गर्न बाध्य थिए। तुलसीपुर उपमहानगरपालिकाले भदौ ३१ गते विमान सेवा सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, दाङका सम्पूर्ण सभासद् र निगमका प्राविधिक कर्मचारीको सहभागितामा विमानस्थलमै अन्तरक्रिया कार्यक्रम गरेको थियो।डिसी नेपाल बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *