४२ वर्षीय वीरबहादुर थोकरले छोराको आशमा आठ छोरी जन्माए ।

काभ्रे। असोज महिनाको तालु पोल्ने घाम । खुट्टामा चप्पल छैन । आङभरि एकसरो कपडा छैन । परिवारलाई बिहान बेलुका कसरी खुवाउने पिरले सताइरहन्छ, वीरबहादुर थोकरलाई ।आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।दुर्गम डाँडापारि खानीखोला गाउँपालिका–६ तालढुंगाका ४२ वर्षीय थोकरले छोराको आशमा आठ छोरी जन्माए । अहिले तिनै छोरीहरुलाई खुवाउने, हुर्काउने पढाउने चिन्ताले सताइरहन्छ, उनी भन्छन् ।

छोराको आशमा वर्षेनी छोरी जन्मेपछि उनको आशमाथि तुसारापात भयो । छोरीहरुलार्इ माथि पुर्‍याउनु पर्ने जिम्मेवारी बढ्यो । अहिले, छोराको आशमा थपिएका छोरीहरुलाई चिसोमा लगाउने न्यायो कपडा छैन । ज्यानभरि ढाँक्ने एक सरो राम्रो कपडा छैन ।वीरबहादुरलाई दिनहुँ परिवारमा कसरी चारो(खाना) जुटाउने भन्ने पिर थपिदै गएको छ । उनी भन्छन्, ‘बच्चाहरु ठुलो हुँदै जाँदा कसरी पेटभरि खुवाउने भन्ने पिर लाग्दो रैछ, लाउन त जाडो महिनामा आगो बालेर काटिन्छ, गर्मीमा पौडी खेलेर ।छोरीकै विवाह गर्ने अवस्थासम्म सन्तानको चाहना गरेको बाध्याता भएको वीरबहादुर बताउछन् । उनी थप्छन्, ‘छोरा नहुँदा कोही कुटुम्ब(नाता) आउँदैनन्, मरेपछि पनि छोरा नै चाहिन्छ ।’घरभित्र बाक्लो बादल जस्तै धुँवाको मुस्लो रुमालिएको छ । त्यही रुमालिएको धुँवामा हराएको छ एउटा कोक्रो । र, कोक्रोमा सुतिरहेकी छन्, दुई महिने छोरी ।

साना खोपाबाट बाहिरिदै गरेको धुँवासँगै मिसिएको थियो छोरीहरुलाई कराएको थोकर दाम्पत्ति आवाज । चेतनाको अभावले सन्तानलाई ईश्वरको बरदान मानिन्छ । सरकारले पनि दुई सन्तान ईश्वरको बरदान नारा लगाएको थियोरछ । तर, उनीहरुको परिवारमा बिल्कुल फरक भयो । छोराको आशमा आठ छोरीको जन्म भयो ।‘समाजले छोरालाई सन्तान माने, मृत्यु संस्कारमा पितृ तार्न छोरा नै चाहिन्छ भने, वीरबहादुरले गुनासो गरे । उनी थप्छन्, ‘छोरी त अरुको घर गैहाल्छन्, त्यसैले छोरा पर्खेको बसेँ ।’

बुढाबुढी हुँदा साहारा चाहिने सोचले गर्दा परिवार नियोजन र गर्भपतन बारे सोचेनन् उनीहरुले । कसैले सुझावसमेत दिएनन् । र छोरा पर्खिरहे । अहिले थोकर परिवारमा जेठी छोरी संगीता विरामी भएकी छन् । अरु पनि पालैपालो विरामी हुन्छन् । उपचार गर्न पैसाको अभाव सधै उस्तै रहँदै आएको छ ।परिवारमा एउटा छोरी (सुनिता) ९ कक्षामा पढ्छिन् । अरुले पढन् पाएका छैनन् । सम्पत्तिको नाममा तीन रोपनी पाखो बारी छ । निरास हुँदै वीरबहादुर भन्छन्, ‘मनले हरेस खाइसक्यो, सपनाहरु मरिसक्यो ।’ अहिले उनी न सपना देख्न सकेका छन्, न छोरीहरुलाई सपना देखाउन सकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *